सापकोटालाई सभामुखबाट हटाउन देउवा–ओली सहमति नजिक

काठमाण्डु टुडे २०७८ फागुन १२ गते ७:०८ मा प्रकाशित

काठमाण्डु, १२ फागुन– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ ।

 

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ । काँग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ । ‘हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ’, एमालेका एक उच्च नेताले भने ।

ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो । काँग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ ।

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसद् मा दुईतिहाइ पुर्‍याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us