जब देउवाले ओलीले झुक्याउन लागेको सूचना पाए…

काठमाण्डु टुडे २०७८ फागुन ७ गते ७:४५ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् ।

तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ । पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन । पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धन  बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ ।

एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेर संसद् स्थगित भएको थियो । बैठकमा एमालेले पुरानै अजेन्डामा नाराबाजी जारी राखेको थियो ।

संसद्को अर्को बैठक पनि ८ गते नै बोलाइएको छ । पाँच दलीय गठबन्धन तोडाउने तर, एमसिसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी ओलीले गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसप्रति सचेत रहन गठबन्धनकै नेताले सुझाव दिएका छन् । त्यसकारण पनि देउवा तत्कालै  ओलीको विश्वासमा पर्नसक्ने अवस्था छैनन् ।

गठबन्धनबाट सरकार छाड्ने चेतावनी आउँदासमेत प्रधानमन्त्री देउवाले जबरजस्ती संसद्मा एमसिसी टेबुल गर्ने आँट गरेका छैनन् । सरकार फागुन ४ गतेको संसद् बैठकमा एमसिसी टेबुल गर्नबाट पछि मात्र हटेन, शुक्रबारको बैठकमा पनि एमसिसी अघि बढाउन सकेन । बिहीबार राति गठबन्धनको बैठक सकेर ओलीनिवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले त्यहाँबाट पनि विश्वस्त आधार नपाएपछि शुक्रबारको संसद्को बैठकमा पनि एमसिसी टेबुल गर्न नसकेका हुन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us