‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसक्यो, अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन’

काठमाण्डु टुडे २०७८ माघ १ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १ माघ– पटक– पटक आक्रमण भइरहेको भन्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरुद्दिन अन्सारीले सरकारलाई मेडिकल कलेजको ताला बुझाउने चेतावनी दिएका छन्। आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै अन्सारीले कोरोना भाइरसको तेस्रो महामारी सन्निकट रहेको समयमा स्वास्थ्य संस्थाहरूमा ताला लगाउने परिस्थित सिर्जना नहोस् भनेका छन्।

‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन । निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरुमा क्षति पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ, निजी क्षेत्रले सम्मानित रूपमा व्यवसाय गर्न गराउन पाउनु नैसर्गिक अधिकार हो,’ उनले विज्ञप्तिमा भनेका छन्  ।

‘नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धरासायी बनाएर वर्षेनी हजारौं नेपाली विद्यार्थीहरूलाई अर्बौं रुपैयाँ बोकेर विदेशी भूमिमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ, विश्वका ठूल्ठूला देशहरू विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट सम्भव भएको हो। तर, यहाँ त सरकारी संस्थाहरूलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अर्बौं ऋण लिएर सञ्चालित संस्थाहरूलाई समेत सिध्याउने कार्य भइरहेको । विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समूहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ, मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कति पनि चिन्तित र संवेदनशील रहेनछ भन्नेसमेत पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us