कोरोनाको उच्च प्रकोप देखिएको भन्दै बिरामीलाई सकेसम्म अस्पताल नआउन भरतपुर अस्पतालले गर्यो आग्रह

काठमाण्डु टुडे २०७८ माघ १ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १ माघ– भरतपुर अस्पतालले कोभिड– १९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ। प्रेस विज्ञप्ति जारी गरी अस्पतालले जिल्लामा कोभिड– १९ संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरेका छन्।

भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो। पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना जोजिटिभ देखिएको छ।

अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले गम्भीर समस्या भएर अस्पताल आउने क्रम कम देखिए पनि कोरोनाको संक्रमण समुदायमै फैलिएको देखिएको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us