
काठमाण्डु, ५ पुष– बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक चिलीको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेका हुन् ।
चिलीको राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन । तर ९८ प्रतिशत मत गणनामा बोरिकको पक्षमा ५६ प्रतिशत र कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त भएपछि विजय निश्चित भएको हो ।
यो निर्वाचनमा दशककै सबैभन्दा ठूलो ध्रुवीकरण देखिएको छ । ठूलो संख्यामा सरकारविरोधी प्रदर्शनपछि चिलीमा यो परिवर्तन सम्भव भएको हो । दुवै उम्मेदवारले देशका लागि फरक फरक दृष्टिकोण पेश गरेका थिए । उनीहरु दुवैसँग सरकार र सत्ता सन्चालनको अनुभव भने थिएन । ३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्दैछन् ।