
काठमाण्डु, ३ पुष– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानका लागि सन् २०२१ निकै समस्याग्रस्त रह्यो । मुम्बईबाट गोवा जान लागेको एक क्रुजमा एनसीबीको टिमले छापा मारेर आर्यनसहित आठलाई पक्राउ गरेको थियो । एनसीबीले उनीहरुलाई क्रुजमा भएको ड्रग्स पार्टीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको थियो । आर्यन पक्राउ परेको २८ दिनपछि जमानतमा रिहा भइसकेका छन् ।
जेलबाट रिहा भए पनि आर्यनको तनाव घटेको छैन । यहीकारण शाहरुख र उनकी श्रीमति गौरी खानले आर्यनको जीवनबाट सबै तनावलाई हटाउनका लागि विशेष योजना बनाएका छन् । शाहरुख र गौरीले मुम्बईमै बसेर आर्यनलाई फिल्म मेकिङ सिकाउने योजना बनाएका हुन् ।
आर्यनलाई फिल्म मेकिङप्रति निकै चासो छ । शाहरुख र गौरीले विदेशमा फिल्म मेकिङ सिकाउने योजना बनाए पनि क्रुज लागुऔषध मुद्धामा फसेपछि एनसीबीले आर्यनको पासपोर्ट नियन्त्रणमा लिएको छ । जसकारण उनी तत्कालका लागि विदेश जान पाउदैनन् ।