राप्रपा पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका छन् । त्यस्तै, नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ गराएका छन् । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अध्यक्ष लिङदेनले शपथ गराएका छन् ।

कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आज बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us