
म्याग्दी, १६ मंसिर– म्याग्दीका पहाडी भूगोलमा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापर्वाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् । मङ्सिर १३ गते सोमबार साँझ म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा भएको बोलेरो जिप दुर्घटनामा पनि साँघुरो र घुम्ती नपुगेको सडकलाई नै प्रमुख कारण मानिएको छ ।
बेनीबाट बेग जाँदै गरेको ग१ज ७२५१ नम्बरको बोलेरो जिप घाप्पा औलको उकालो मोड नपुग्ने घुम्तीबाट २०० मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर बेगका खिम पुन, खिमानन्द शर्मा, जिपका चालक दुतबहादुर थापा र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए । दुर्घटनामा घाईते भएका चारै जनालाई बेनी अस्पतालको उपचारपछि थप उपचारका लागि अहिले पोखरास्थित मणिपाल अस्पताल भर्ना गरिएको छ ।
उकालोमा जाँदै गरेको बोलेरो जिप घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताए । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाको कारण देखिएको छ”, उनले भने, “अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ ।”
कच्चीरुपमा विस्तार भएका अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् । पहाड, अक्करे भिर हुँदै विस्तार भएका अधिकांश सडक एकतर्फी मात्रै यातायात सञ्चालन हुने अवस्थाका छन् । अधिकांश ग्रामीण सडकमा एम्बुलेन्स पुग्न सक्ने अवस्था छैन । दोहोरो वारपार गर्नसमेत मुस्किल पर्ने सडकको स्तरोन्नतिमा प्रभावकारी योजना सञ्चालन हुन सकिरहेका छैनन् । हरेक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट खर्च गरेको भएपनि सडकलाई स्तरीय बनाउन नसक्नु विडम्बनापूर्ण छ ।
सडक मर्मत र स्तरोन्नतिको काममा जनप्रतिनिधि स्वयंका डोजर परिचालन हुने र गुणस्तर र मापदण्ड पुरा नगर्ने प्रचलनका कारण सडकमा खर्चिने बजेट बालुवामा पानी हाले सरह हुने गरेको रघुगङ्गा गाउँपालिका–३ का युवा विकास भण्डारीले गुनासो गरे । “सडक मर्मतमा बजेट विनियोजन हुन्छ, खर्च पनि हुन्छ, तर सडकमा जोडर फन्को मारेर काम सक्ने प्रवृत्तिले सडकको अवस्था सुधार हुन सकिरहेको छैन, यसतर्फ वडा र पालिकाका जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी छ”, उनले भने ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत समेत सडक स्तरोन्नतिमा जिल्लामा बर्सेनि करोडौँ रकम खर्च हुने गरेको छ । सडककलाई फराकिलो बनाउँदै ग्रेडिङ, नाली, पर्खाललगायतका पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्नुपर्ने भए पनि अधिकांश योजनामा डोजर चलाएरै बजेट सक्ने प्रवृत्ति बढेकाले सडकको अवस्थामा सुधार आउन नसकेको गुनासो बढिरहेको छ ।