एमालेमा सर्वसम्मत असम्भव, ओलीको समूहमा पर्न नेताहरूको लबिङ

काठमाण्डु टुडे २०७८ मंसिर १० गते ७:२२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन् ।

पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन् । आकांक्षी बढी भएपछि एमालेले निर्वाचनको तयारी पनि गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आकांक्षीको संख्या धेरै छ। आकांक्षीहरूले खुला उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ गरिरहेका छन् । यही अवस्था देखेर निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउने काम पनि भइरहेको तामाङले बताए । अहिलेसम्म उम्मेदवार हुने सबैको नाम र फोटो राख्ने व्यवस्था गरिएको छ । पदाधिकारीमा सर्वसम्मत हुन सक्ने नदेखेपछि प्रतिनिधिहरूको आकर्षण केन्द्रीय सदस्यतर्फ बढेको हो ।

प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन भित्रभित्रै लबिङ तीव्र पारेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा निर्वाचन भए चिट वितरण हुने भनेपछि नेताहरूले उनको सूचीमा पर्न कसरत गरिरहेका छन् । ‘आकांक्षी धेरैजसो नेताले पार्टी अध्यक्ष र उहाँको समूहमा पर्न लबिङ गरिरहेका छन्’,एमालेका एक नेताले भने ।

काठमाडौंमा केही दिनदेखि अध्यक्ष ओलीनिवास र पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेताहरूलाई भेटेर आकांक्षीहरूले आन्तरिक लबिङ जारी राखेका थिए। चितवन आएपछि पनि उनीहरूले लबिङ जारी राख्दै ओली निकट नेताहरूसँग छलफल गरिरहेका छन् ।
महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म चल्नेछ । महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकांक्षा राखेका छन्। एमालेमा अहिले एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ ।

संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । यसमा १५ जना पदाधिकारी पनि पर्छन् । हालको केन्द्रीय कमिटीमा रहेका मध्ये तीन दर्जनजति नेता पदाधिकारीका आकांक्षी छन् । अनुहार दसौं महाधिवेशनमा पनि उम्मेदवार बन्ने सम्भावना छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us