नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

रासस २०७८ कार्तिक ४ गते ११:०४ मा प्रकाशित

हुम्ला, ४ कात्तिक–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन्।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन्।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो।

आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us