दसैंको मुखमा पूर्वराजा ज्ञानेन्द्रको भिडियो सन्देशः मैले जिम्मेवारी लिनुपर्ने अवस्था आयो

काठमाण्डु टुडे २०७८ असोज २६ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २६ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकले आफ्नो नेतृत्व खोजेको दाबी गरेका छन् ।

बडादसैंका अवसरमा मंगलबार स्वदेश तथा विदेशमा रहेका नेपालीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको उल्लेख गरे । तर, प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध आफूमा भएको उनको भनाइ छ ।
नेपाली समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नरहेको भन्दै उनले तर, राजनीति र राजकाजी चालचलन त्यसअरुप हुन नसकेको टिप्पणी गरे । लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको पनि गुट उपगुटमा विभक्त भएको ज्ञानेन्द्रको भनाइ छ ।

पूर्वराजाले सन्देशमा कोरोना महामारी, प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आमनेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न नपाएको उल्लेख गरेका छन् । पूर्वराजाले परिवर्तनको प्रभाव जनताले जीवनमा अनुभूत गर्न नसकेको स्पष्ट गरेका छन् ।
ज्ञानेन्द्रले मुलुकमा भ्रष्टाचार बढेको तथा सार्वभौमिकता, राष्ट्रियता , राष्ट्रिय एकता, मौलिक धर्म संस्कृति र राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकामा आफ्नो मन पोलेको बताए ।
‘दुर्भाग्यबस शिक्षा, स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,’ पूर्वराजाले सन्देशमा भनेका छन्, ‘सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भर्इ राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’

हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने भन्दै उनले राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने र त्यो आफूहरुको मान्यता र परम्परा पनि नभएको दाबी गरे । सन्देशमा पूर्वराजाले शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने स्पष्ट गरेका छन् । देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन नसक्ने र योग्य समयमा समुचित तरिकाबाट प्रष्फुटित हुने उनको भनाइ छ । ‘केही समय यता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रुपमा बुझेका छौं’, सन्देशमा भनेका छन् ।

प्रजातन्त्रिक, प्रगतिशील या अन्य जुनसूकै विचारप्रति अस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास उनले व्यक्त गरेका छन् । ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ सन्देशमा उनले भनेका छन्,, ‘देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us