गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा

काठमाण्डु टुडे २०७८ असोज १० गते १२:२४ मा प्रकाशित

गुल्मी, १० असोज – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् ।

झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् ।

एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महत आगामी चुनावमा सत्तारुढ घटकबीच गठबन्धन नबने पनि गुल्मी क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीका तर्फबाट झाक्री नै उम्मेदवार हुने बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us