एमालेमा वामदेवले सबै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत

काठमाण्डु टुडे २०७८ असोज ८ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, ८ असोज– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

उनले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए । ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौ’, तामाङले भने ।

गौतमले आफ्नो राजीनामा पत्रमा अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशा पालना नगरेको तथा सरकारमा हुँदा साझा घोषणापत्र समेत लागु नगरेको गुनासो गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us