लमजुङमा विद्युतको तीन करोड बक्यौता

रासस २०७८ असोज ५ गते १४:५४ मा प्रकाशित

लमजुङ, ५ असोज–  लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले २०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । ‘दुई पटक पत्राचार गरिसकेका छौं, बक्यौता तिर्न मानेको छैन,’ उनले भनिन् ।

लमजुङ विद्युत उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले शुरुआतमा ३२ लाख, दोस्रो पटक २५ लाख तथा पछिल्लो समय सात लाख रुपैयाँ बक्यौता तिरेको गुरुङले जानकारी दिइन् ।

२०७२ सालमा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत उपभोक्ता संस्थाले तीन करोड १२ लाख र पश्चिम विद्युत उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा उपभोक्ता समितिले बिजुली वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँका चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us