बाढीपहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक खण्ड आजबाट यातायात सञ्चालन

रासस २०७८ असोज १ गते १७:३५ मा प्रकाशित

मनाङ, १ असोज – माथिल्लो मनाङ, चामे र नासो गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन् ।

गत असार १ मा मर्स्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिरोले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।
सोही बाढीपहिरोले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।  सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि  सवारी सञ्चालनमा आएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।

उनका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे  र  माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ  । उनले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताए । “सडक मर्मत तथा सम्भारको  भइरहेको छ  । वर्षा भइरहेकाले समस्या छ ।” उनले भने, “वर्षा भइरहेको छ । एक ठाउँमा बनायो । अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ ।”

सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बेंसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यस्तै चामे गाउँपालिकामा स्थानीय सहितका सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए ।

आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी  छ । उक्त सडक अन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us