वीरगञ्जमा स्टिल उद्योगको भट्टी पड्किएर पाँच मजदुरको मृत्यु

काठमाण्डु टुडे २०७८ भदौ २५ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ ।

भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए । तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो । तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन ।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो । त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ । मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन् ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए । ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं ।’

वास्तविकता लुकाउने उद्योगको प्रयास
उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन । भट्टी विस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो ।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । उनको मोबाइल नं ९८५१२३७१८७  मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन् । घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो ।   अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us