नेपालमा भेटियो कोरोनाको डेल्टा भेरियन्ट

काठमाण्डु टुडे २०७८ भदौ २५ गते ७:०३ मा प्रकाशित

काठमाण्डु, २५ भदौ–  नेपालमा फैलिएको कोरोना सङ्क्रमणमा डेल्टा भेरियन्ट देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ सम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।

उनले विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी) मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए ।

उनले सङ्क्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गरे । यी भेरियन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताए । उनले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गरे । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us