काठमाण्डुमा ५० वर्ष यताकै ठूलो वर्षा

काठमाण्डु टुडे २०७८ भदौ २२ गते ७:४४ मा प्रकाशित

काठमाण्डु, २२ भदौ–काठमाण्डु उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन् । सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । ‘यो भनेको ऐतिहासिक वर्षा हो । यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने । काठमाण्डुमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो । सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्त्य हुने महिना हो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँग स्थानीय तहबाट विकसित भएको वायु मिसिएपछि भारी मात्रामा वर्षा भएको मौमसविद्ले जनाएका छन् । सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो। मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन् । एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ। आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ ।

भारी मात्रामा वर्षा हुँदा काठमाडौंका नदी खोलामा सोमबार बिहान बाढी आयो । ‘काठमाण्डुको जमिनले पानी सोस्न भ्याएन’, वरिष्ठ मौसमविद् सापकोटाले भने, ‘त्यसपछि पानी ओभर फ्लो भई बाढी आयो ।’ काठमाण्डुको अधिकांश भूभाग घरले ढाकेको, बाँकी भाग पनि पिच सडक तथा ढलान गरिएको हुँदा जमिनले पानी सोस्न नसकेको वातावरणविद्हरूको तर्क छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us