काठमाण्डु, १२ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी युवा नेतृत्वलाई सुम्पिएर आफू सक्रिय राजनीतिबाट अलग हुने सोचमा रहेको बताएका छन् ।
पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले युवा नेतृत्व तयार नहुँदासम्म आफू नेतृत्वमै रहनु बाध्यता भएको उल्लेख गरे । सक्रिय राजनीतिबाट छिटोभन्दा छिटो बिदा भएर राजनीतिक जीवनबारे संस्मरण लेख्ने इच्छा रहेको उनको भनाइ थियो । ‘सक्रिय राजनीतिबाट बिदा भएर संस्मरण लेख्न मन छ’, प्रचण्डले भने, ‘तर, नेतृत्व लिन युवाहरु त्यार हुनुपर्छ ।’
युवालाई पार्टीको नेतृत्व दिने र फरक भूमिकामा बस्नेबारे आफूले सोचिरहेको उनले स्पष्ट गरे । जनयुद्धको समयमा चुनौतीपूर्ण कामको जिम्मेवारी पाउन हानथाप गर्ने युवाहरु अहिले पद र प्रतिष्ठाको पछि लागेको टिप्पणी उनले गरे । प्रचण्डले आफूहरुले एउटै कम्युनिष्ट केन्द्र बनाउने पवित्र मनसायका साथ एमालेसँग एकता गरे पनि केपी ओलीले त्यसलाई सत्ता प्राप्तिको दाउपेचका रुपमा प्रयोग गरेको आरोप लगाए ।
ओलीको गैरकम्युनिष्ट चिन्तन, प्रवृत्ति, सोच र निरंकुश कार्यशैलीका कारण नेकपाको एकता टुटेको बताए । फरक प्रसंगमा प्रचण्डले माओवादी कार्यकर्तालाई अरु पार्टीका कार्यकर्ताभन्दा फरक हुन र जनताको सेवामा समर्पित हुन निर्देशन दिए ।