काठमाण्डु, ३ भदौ– प्रस्तावित एमाले (समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग जाने क्रममा माधव नेपालको हात समातेर तानेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइहरेको छ ।
तस्वीरलाई लिएर कसैले झाँक्रीको समर्थन गरेका छन् भने कतिपयले विरोध जनाएका छन् । खास गरी एमाले संस्थापन पक्षधरले उक्त तस्वीर पोष्ट गर्र्दै खिसीट्युरी गरिरहेका छन् ।
आफ्नै पक्षका वरिष्ठ नेताहरुले पार्टी विभाजनमा साथ नदिँदा नेपाललाई झाँक्रीले हात दिएर तान्नुपर्ने अवस्था आएको तर्क उनीहरुको छ । तर, झाँक्रीले उक्त विषयलाई परिस्थितिको संयोग भएको प्रतिक्रिया दिएकी छन् ।
झाँक्रीले के भनिन् ? उनकै शब्दमा
हामी नयाँ दल दर्ताका लागि जानुभन्दा अगाडि नै निर्वाचन आयोग परिसरमा मिडियाकर्मी साथीहरुको बाक्लो भिड जम्मा भइसकेको रहेछ । उहाँहरुले बाटो छेक्नुभएको थियो । पार्टी दर्ताको प्रक्रिया सुरु भएकै थिएन ।
तर, हामी उहाँहरुका अगाडि उभिएर पत्रकार सम्मेलन गर्न खोजेको जस्तो स्थिति भयो । मैले पत्रकारलाई छल्न माधव कमरेडलाई छेउ लगाएर जाऔं भनेर संकेत गरेर हात समातेर लगेको हुँ । त्यहाँ रहेका फोटो पत्रकार साथीहरुलाई सोध्दा थाहा हुन्छ त्यो मुभमेन्ट कस्तो थियो भनेर । निर्वाचन आयोगमा रङरोगनको काम भइरहेको रहेछ । त्यसले गर्दा पनि हामी भित्र जान पत्रकारहरु भएकै ठाउँबाट जानुपर्ने भयो ।
तस्वीरबारे धेरैथरि तर्क गरिएको सुनेको छु । जसले जे भने पनि सांकेतिक रुपमा मलाई राम्रै भयो । म तेश्रो पुस्ताको हुँ । माधव नेपालसँगै भएको सन्देश गएको छ । मलाई यसले के घाटा भएको छ र ?