रसुवा, ३ भदौ– रसुवामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर तामाङ ग्लानको घर पुरिँदा घरमा सुतिरहेका चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । रसुवा प्रहरी प्रमुख देवेन्द्र पाण्डेले पहिरोमा हराएकाको खोजी तथा उद्धार जारी राखिएको बताए ।
उनका अनुसार नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घरमुली ग्लानलाई प्रहरी र स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन् । उनलाई उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल लगिएको छ ।
घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।