काठमाण्डु, २ भदौ– एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमति प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन् ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बुधबार राति शाक्यलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । त्यसअघि बुधबार दिउँसो निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका थिए ।
माधव नेपालले एमाले विभाजन गरी एमाले (समाजवादी) गठन गरेकै दिन शाक्य केपी ओलीकै अग्रसरतामा मुख्यमन्त्री नियुक्त भएकी हुन् । तत्कालीन नेकपा र एमाले विवादमा शाक्य ओलीविरोधी कित्तामा उभिएकी थिइन् । ओलीले शाक्यलाई आफ्नो समूहमै राखिरहन एकाएक मुख्यमन्त्री बनाएको ठानिएको छ । यसअघि शाक्य निवर्तमान मुख्यमन्त्री पौडेलसँग संसदीय दल नेतामा पराजित भएकी थिइन् ।
ओली र नेता नेपालबीच निर्वाचनअघि शाक्यलाई बागमतिको मुख्यमन्त्री बनाउने सहमति भएको थियो । तर, पार्टी उपाध्यक्षसमेत रहेकी शाक्यलाई रोकेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लो प्रोफाइल’ पौडेललाई मुख्यमन्त्री बनाएका थिए । हेटौंडा उपमहानगरका पूर्वमेयर पौडेल मुख्यमन्त्री नियुक्तपछि मात्र केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।
आफूभन्दा धेरै जुनियर पौडेललाई मुख्यमन्त्री नियुक्त गरेपछि आक्रोशित शाक्य खुलेरै ओली र राष्ट्रपति भण्डारीविरुद्ध लागेकी थिइन् ।
नेकपा र एमाले अन्तरसंघर्षमा उनले माधव नेपाललाई साथ दिइन् । पछिल्लो केही दिनअघिसम्म नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बनाउने आश्वासन पाएपछि ओली समूहमा लागेकी हुन् । एमालेमा शाक्यको छवि इमान्दार, त्यागी र स्वच्छ छविको नेतृ मानिन्छ ।