नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

काठमाण्डु टुडे २०७८ साउन ७ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ७ साउन– आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस मनाइँदै छ ।नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनलाई स्मरण गर्दैछन् ।

पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो ।

उनले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us