जब सिंहदरबारमा ओलीको नाम लिँदै प्रचण्डले देउवामाथि औंला उठाए

काठमाण्डु टुडे २०७८ साउन १ गते ७:४९ मा प्रकाशित

काठमाण्डु, १ साउन–  पाँचदल आबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ ।

प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरूले निवर्तमान प्रधानमन्त्री केपी  ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाएका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले जनजीविकाका सवालमा गर्नुपर्ने थुप्रै काम नगरेको र नगर्नु पर्ने काम गरेकाले त्यसलाई सुधार्नु सरकारको पहिलो दायित्व भएको सुझाएका थिए । ‘ओली सरकारले जनताका कुरा कम सुन्ने र समस्यामा कम ध्यान दिने गरेर जनताबाटै तिरस्कृत भइसकेको थियो अब विगतमा भएका गल्ती सुधार्नै पर्छ र नयाँ गल्ती पनि थपिनुहुन्न,’ दाहालले प्रधानमन्त्री देउवालाई गठबन्धन आबद्ध दलको बैठकमा भनेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि पूर्वप्रधानमन्त्री ओलीबाट भएका विगतका गल्ती सच्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताए । ‘केपी  ओलीबाट जुन गल्ती भए, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं,’ यादवले भने । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us