आगामी बजेटबारे ओलीले भने– संसद जिवितै छ

काठमाण्डु टुडे २०७८ जेठ २ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए ।

आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

आर्थिक वर्ष २०७८र०७९ को बजेट ल्याउने प्रक्रियामा ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् ।

संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन । उसो त सरकारले बजेट अधिवेशन समेत आह्वान गरेको अवस्था छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us