बिएण्डसीमा सङ्क्रमितका लागि २०० शय्या सञ्चालन

रासस २०७८ वैशाख २६ गते १२:२० मा प्रकाशित

झापा, २६ वैशाख–  झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न  आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो ।

सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको  अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धि भएसँगै श्यया थप गरिएको छ  । हाम्रो दक्ष जनशक्ति , भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।”

 मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितको लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।

अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई  छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ । विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटर मुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ ।

अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us