देउवा निवास पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।

ठाकुर र महतो देउवा भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । श्रोतका अनुसार देउवाले माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन सघाउने र माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने भन्दै आफूहरुको गठबन्धनमा सामेल हुन ठाकुर र महतोलाई आग्रह गरेका थिए । सत्ता गठबन्धनलाई लिएर जसपामा ठाकुर–महतो र बाबुराम–उपेन्द्र पक्षबीच मतभेद छ ।

ठाकुर र महतो ओली सरकारलाई निरन्तरता दिने पक्षमा छन् । बाबुराम र उपेन्द्र भने ओलीको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us