किन बोलाए ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक ?

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

एक मन्त्रीका अनुसार ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सातामा दुई दिन सोमबार र बिहीबार मात्र मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेको छ । तर, ओलीले शनिबार अकस्मात बैठक बोलाएको र एजेण्डाबारे केही जानकारी नदिएकाले आशंका उत्पन्न गराएको छ ।

ओलीले संसदबाट विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् । विश्वासको मत जुटाउन कहिले काँग्रेस र कहिले एमालेकै माधव नेपाल समूहसँग वार्ता गर्दै आएका ओली अब भने विश्वासको मत नपाउनेमा करिब निश्चित भएको बालुवाटार श्रोतले जनाएको छ ।

आफूले विश्वासको मत नपाए संसद विघटन गरेर पुनः मध्यावधि निर्वाचन घोषणा गर्ने मनस्थितिमा ओली छन् । बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us