उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बियो

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते ९:५६ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।

काठमाण्डु, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निशेधाज्ञा एक साता थप भएको जनाएका हुन् । यसअघि १६ वैशाखबाट सुरु निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै थियो । निषेधाज्ञा खुकुलो भएको गुनासो बढेपपछि आजबाट थप कडाइ गरिने भएको छ ।

खाद्य सामग्रीका पसल यसअघि बिहान १० बजेसम्म र साँझ ५ बदेखि ७ बजेसम्म खुल्ने गरेकामा आजदेखि बिहान ९ बजेसम्म मात्र खुल्नेछन् । साँझ खोल्न रोक लगाइएको छ । जिल्ला प्रशासनले यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरेका छन् ।

सरकारी कार्यालय र सार्वजनिक संस्थानले एक चौथाइ मात्र कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाले उपत्यकामा रहेकामध्ये २५ प्रतिशत शाखा मात्र खोल्न पाइने छ ।

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीका लागि विषय खुल्ने कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नेछ ।
वैवाहिक कार्यका लागि सवारी पास आवश्यक नपर्ने स्पष्ट गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us