ओली सरकारले कम्युनिष्टको बदनाम गरेको छः वैद्य

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते ९:४५ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले केपी ओली नेतृत्वको सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिरहेको अरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबकार विज्ञप्ति जारी गर्दै वैद्यले वर्तमान ओली सरकार कम्युनिष्टहरुको नभएको बताए । कम्युनिस्ट पार्टीको सरकार भएकै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको आरोप उनको छ । ‘अहिले नेपालमा नामधारी कम्युनिस्ट पार्टीको सरकार छ । तर विडम्बना, यही नै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको छ । नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललाई हस्तगत गर्नेबारे ओली सरकारले भारतसँग कुटनैतिक प्रयास समेत गरेको छैन भने अर्कोतिर एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराई नेपालमा अमेरिकाको सैन्य अखडा स्थापना गर्न र नेपाललाई वैदेशिक शक्ति केन्द्रहरुको रणमैदान गराउन यो सरकार उद्दत् रहेको छ ।’

नवउदारवादको सिरानी हालेर तयार पारिएको साम्राज्यवादी आर्थिक नीति र त्यसैले प्रक्षेपण गरेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा फोस्रो गफ भएको आरोप वैद्यको छ । यस्तै वैद्यले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको र सरकारका हस्तीहरु नै त्यसमा संलग्न रहेको बताए । वैद्यले विज्ञप्तिमा वर्तमान संकट संसदीय व्यवस्थाका पक्षपाती सबै राजनीतिक दल, प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको असफलताको स्वाभाविक परिणाम भएको दाबी गरेका छन् । माक्र्सवादको नाममा दक्षिणपन्थी संशोधनवादको अभ्यास गर्ने नक्कली कम्युनिस्टहरुको प्रतिक्रियावादी सार र त्यसैका कारण पैदा भएको सुविधा केन्द्रित अन्तर–कलका कारण संकट उत्पन्न भएको ठहर वैद्यको छ ।

उनले केपी ओली, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र एकले अर्कोलाई देखाइदिने धम्की दिँदै हिँडेको भन्दै उनले यो उनीहरुको आत्मसन्तुष्टि मात्र भएको उल्लेख गरेका छन् ।
‘साम्राज्यवाद र विस्तारवादका असली सेवकहरुले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र देश र जनताको मुक्ति गर्ने कुरा गर्नु जनतालाई फेरि धोका दिने र देश लुट्नेबाहेक अरु केही नभएको आरोप वैद्यले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us