प्रधानमन्त्रीको तर्फबाट सांसद थापालाई महेश बस्नेतको जवाफ

काठमाण्डु टुडे २०७७ चैत २६ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २६ चैत– एमाले सांसद महेश बस्नेतले कांग्रसका सांसद गगन थापालाई प्रधानमन्त्री ओलीलाई चुनौती दिएर बालहठ प्रदशन गरेको बताए ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा थापाले प्रधानमन्त्री आलीलाई उद्घाटनको तमासा गरेको भन्दै पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई चुनौती दिएका थिए ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ ।

प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’ विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाए ।

उनले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बढेको अहिलेको अवस्थामा सदन अस्वस्थ खालको बहस चलाउन थालेको दावी गर्दै प्रधानमन्त्री ओलीको जबर्जस्ती राजीनामा माग गर्दै गलहत्याउने कुरा पनि भइरहेको उल्लेख गरे ।

उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us