पठाओ राइडरलाई कम्पनीको पोशाक लगाउन रोक

काठमाण्डु टुडे २०७७ चैत १० गते १८:४१ मा प्रकाशित

काठमाण्डु, १० फागुन– सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगो वा ब्राण्ड अङ्कित कपडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मानसिंह बस्न्यातले मंगलबार एक सूचना जारी गर्दै यदि पठाओ राइडरले कम्पनीको लोगो वा ब्राण्ड भएको कपडा लगाएर हिंडेको पाइए स्थानीय प्रशासनले कारबाही गर्ने चेतावनी दिएका छन् ।

सरकारी निकायसँग भएको छलफल तथा अफलाइन राइड गर्ने क्रम बढेकाले पोशाक नलगाउन निर्देशन दिइएको सूचनामा उल्लेख छ । अनलाइन प्रणालीमा आधारित सेवा भए पनि पछिल्लो समय पठाओ चालकहरु पेशाकसहति चेकचोकमा जम्मा भएर बस्ने र यात्रु आउने बित्तिकै लिएर हिंड्ने गर्दथे । जसबाट कम्पनीको आम्दानी घटेको थियो ।

‘कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पठाओ नेपाल प्रा.लि. ले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई ‘प्रोटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजरसहितको कपडा) राइडको समयमा अनिवार्य गरिएको भए पनि तत्कालका लागि प्रयोग नगर्न सरकारले निर्देशन दिएको दाबी सूचनामा गरिएको छ । तर, राइड सेवा भने निर्वाध रुपमा चल्ने पठाओले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us