महाकालीमा भारतद्वारा एकतर्फी तटबन्ध, राष्ट्रवादी सरकार किन बोल्न डराउँछ ?

काठमाण्डु टुडे २०७७ चैत १० गते १७:४६ मा प्रकाशित

काठमाण्डु, १० चैत– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेपाली भूमि मिचिँदा चुप लागेर बस्ने सरकार कसरी राष्ट्रवादी हुन्छ भन्ने प्रश्न गरेको छ ।

काँग्रेस सांसद डिलेन्द्र बडूले मंगलबारको प्रतिनिधिसभा बैठकमा भारतले महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाए पनि सरकारले देखेको नदेख्यै गरेको आरोप लगाए । बडूले सरकारले भारतद्वारा सीमा क्षेत्रमा निर्माणाधीन तटबन्धनबारे मौन समर्थन जनाएको दाबी गरे ।

दार्चुलाको महाकाली नगरपालिका–५ मा तीन महिनायता नेपाली भूमि मिचेर भारतले एकतर्फी बाँध निर्माण गर्दै आएको र सरकार चुप लागेर बसेको बडूले संसदलाई जानकारी गराए । बडूले दार्चुलाका सिडिओले गृह मन्त्रालयमा चारपटकसम्म बाँध निर्माणबारे पत्राचार गरेको भन्दै सरकारले मौन समर्थन जनाउनुमा आश्चर्य प्रकट गरे ।

‘सिडिओले चारपटक पत्राचार गर्दा सुनुवाई भएन । परराष्ट्र मन्त्रालय थाहा छैन भन्छ । दार्चुलाकै गणेश ठगुन्ना मन्त्री हुनुहुन्छ । उहाँले पनि केही सुन्नु भएको छैन । त्यहाँका जनता, राजनीतिक पार्टीका नेता कार्यकर्ता पटकपटक गृह मन्त्रालयमा ताकेता गरिरहेका छन्’, बडूले भने, ‘के हुँदैछ ? कसको सेवा हुँदैछ ? गाउँका गाउँ सखाप हुँदा पनि हामी किन बोल्दैनौं ?’ । उनले वर्तमान सरकारले आफूलाई भाषणमा मात्र राष्ट्रवादी दाबी गरिरहेको आरोप बडूले लगाए ।

‘सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा बोल्न नसक्ने यो सरकारले आफूलाई कसरी राष्ट्रवादी भन्ने ?’, बडूले भने, ‘राष्ट्रियताको भाषण गरेर मात्र हुँदैन, मलाई अर्को बैठकमा जवाफ चाहिन्छ ।’ समयमै उचित कदम चाल्न नसके सीमा क्षेत्रका जनता बेघरबार हुने अवस्था आएको भन्दै उनले त्यस्तो अवस्थामा ज्यान जोगाउन समेत गाह्रो हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us