निकुञ्जमा फागुनमा मात्र २४ हजार ८६१ पटक सैन्य गस्ती

काठमाण्डु टुडे २०७७ चैत ७ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, ७ चैत–  प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा आठ हजारभन्दा सैनिक खटिएका छन् । आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति अहोरात्र खटिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

२०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि  निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ । मुलुकमा १२  राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल  र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ ।

प्रकृतिक संरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो गस्ती गर्ने, गौडा छेक्ने जस्ता कार्य गर्दैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो । यो अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल  १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ ।

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ । पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ ।

फागुनमा २४ हजार ८६१ पटक गस्ती

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो । सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ । उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदैआएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us