ओलीको हिम्मत भए मलाई हटाओसः नेपाल

काठमाण्डु टुडे २०७७ चैत ५ गते १८:३५ मा प्रकाशित

काठमाण्डु, ५ चैत– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आँट भए आफूलाई पार्टीबाट हटाउन अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको समापनमा बिहीबार बोल्दै नेता नेपालले एमाले आफूहरुले रगत पसिना बगाएर बनाएको पार्टी भन्दै कसैको बिर्ता नभएको उल्लेख गरे । ओली प्रवृत्तिविरुद्ध भने पार्टीभित्र बसेर संघर्ष गरिरहने उनको भनाइ थियो । ‘एमाले हामीले बनाएको पार्टी हो, हाम्रो पार्टी हो’, नेपालले भने, ‘मुण्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिमसम्म लड्छौं ।’

उनले आफूतिर लागेका स्थानीय तहका जनप्रतिनिधि हटाउने हल्ला चलाइएको भन्दै त्यसो गर्न नमिल्ने बताए । सम्बन्धित व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र जनप्रतिनिधि पदमुक्त हुने उनको भनाइ थियो । नेपालले आफूहरु जतिसुकै ठूलो चुनौती सामाना गरेर भए पनि पार्टी एकता बचाउन लागिपर्ने उल्लेख गरे ।

ओली स्वयंले भेलामा सहभागीलाई कारबाही गर्ने चेतावनी दिइरहेका बेला नेता नेपालले आफूहरु धम्कीसँग नडराउने बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us