
रसुवा, ३ चैत– उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो । गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्याएका सामग्री भन्सार हातामा आएका थिए । आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेकै छैन ।
बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्क बापतको राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङ सम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पुर्याई चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ । हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध छन् ।