
prachanda काठमाण्डु, २५ फागुन– केपी ओलीलाई जसरी पनि सरकारबाट हटाउने रणनीतिमा रहेको नेकपा माओवादी केन्द्रले आज जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्ने भएको छ
माओवादीले आफूसहित काँग्रेस र जसपा मिलेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रस्ताव गर्दै आएको छ । यसअघि भएको छलफलमा जसपा नेताहरुले प्रचण्ड र माधव नेपाललाई तपाईंको पार्टी कुन हो ? भन्ने प्रश्न गरेका थिए ।
त्यतिबेला अदालतले एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको थिएन । प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता उपलब्धी खोस्न खोजेकाले त्यसविरुद्ध सडकमा उत्रिएका शक्तिबीच सरकारमा सहकार्य हुनुपर्ने तर्क माओवादीको छ । जसपामा सरकारमा कोसँग सहकार्य गर्ने भन्नेमा स्पष्ट दुई धार देखिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीतिर ढल्किएका छन् ।
तर, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव भने ‘प्रतिगमनकारी’ ओलीसँग सत्ता सहकार्य हुन नसक्ने अडानमा छन् । यसबीच नेकपा एमालेको ओली समूह र ठाकुर–महतो पक्षबीच बाक्लै छलफल भएका छन् ।
यसअघि डिल्ली बजार कारागारमा थुनामा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाई तथा संविधान संशोधन हुनुपर्ने सर्त राखेका ठाकुर–महतोले पछिल्लो केही दिनयता प्रधानमन्त्रीमा दाबी गर्न थालेका छन् ।