माइक्रोबस दुर्घटनाः थप १ को मृत्यु

रासस २०७७ फागुन २७ गते १६:३६ मा प्रकाशित

सुर्खेत, २७ फागुन– कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा थप एकको मृत्यु भएको छ ।

मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुर्घटनामा तीन प्रहरीसमेत घाइते भएका छन् । उनीहरूमध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए । उनले भने, “२१ यात्रुमध्ये दुईको मृत्यु भइसकेको छ ।

सुर्खेत पठाइएका ११ मध्ये दुईको अवस्था गम्भीर छ । तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो ।

कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नंको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
माइक्रोबस तीव्रगतिमा हुँदा अनियन्त्रित भई राजमार्गबाट १०० मिटर तल खसेको थियो । बसमा कालीकोटबाट २१ यात्रु सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us