भीम रावललाई ओलीको जवाफः अदालतले भनिसक्यो म एमालेको प्रधानमन्त्री

काठमाण्डु टुडे २०७७ फागुन २४ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २४ फागुन– प्रधानमन्त्री केपी ओलीले नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावललाई कुन पार्टीको भन्ने प्रश्न गरेका छन् ।

उनले आफ्नो पार्टी सर्वोच्च अदालतले नै तोकिसकेको बताए । रावलले पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा खारेज गरिसकेको भन्दै प्रधानमन्त्री ओली कुन पार्टीको भन्ने प्रश्न गरेका थिए । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले रावलको नाम नलिई सांकेतिक जवाफ फर्काए ।

‘मैले उहाँहरुलाई सोध्न नपरोस्, तपाईं कुन पार्टीको हो ?’ ओलीले भने, ‘अदालतले भन्यो म कुन पार्टीको सदस्य हुँ भनेर ।’ ओलीले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको बताए । सो समूहले साधारण सदस्यसमेत नरहने गरी आफूलाई हटाइसकेको ओलीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us