
काठमाण्डु, २३ फागुन– सरकारले संसद नभएका बेला असंवैधानिक रुपमा ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कार्यसूचीमा राखिएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले संसद बैठक बहिस्कार गरेको छ ।
प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक बसेको बैठकमा सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची थियो । नेकपा प्रचण्ड–नेपाल समूहका सांसदले सोही कारण संसद बैठक बहिस्कार गरेर बाहिर निस्किएपछि काँग्रेस सांसदले नाराबाजी गरेका थिए । काँग्रेसले अध्यादेश फिर्ताको माग गरेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विशेष समय लिएर बोल्दै संसदलाई बाइपास गरेर ल्याइएको अध्यादेश फिर्ताको माग गरे । तर, सभामुख अग्नि सापकोटाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश टेबल गर्न समय दिएपछि काँग्रेस सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।