
काठमाण्डु, २३ फागुन– सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण सभामुख अग्नि सापकोटा अप्ठेरोमा परेका छन् ।
आजदेखि सुरु हुने संसद बैठकमा पुष्पकमल दाहाल प्रचण्ड वा केपी ओली कसलाई नेकपा संसदीय दल नेताको हैसियतमा व्यवहार गर्ने भन्नेमा सापकोटालाई सकस परेको हो । प्रचण्ड–नेपाल समूहले बहुमतले ओलीलाई दल नेतासहित पार्टीका सबै जिम्मेवारीबाट हटाएको निर्णय मात्र गरेको छैन, बहुमतको निर्णय कार्यान्वयन गर्न भन्दै संसद सचिवालयमा औपचारिक पत्र नै दर्ता गराएको छ । ओली समूहले देव गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतक तोकेको छ ।
गुरुङ वा भट्टराईमध्ये कसलाई प्रमुख सचेतक मान्ने भन्नेमा पनि सापकोटा अप्ठेरोमा छन् । संसद बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने व्यवस्था छ । उक्त बैठकमा नेकपाका तर्फबाट गुरुङ वा भट्टराई कसलाई बोलाउने भन्ने टुंगोमा पुग्न सकेका छैनन् सभामुख सापकोटा ।
ओलीले प्रमुख सचेतक तोकेपछि भट्टराईले सभामुख सापकोटासँग भेट्ने प्रयास गरेका थिए । तर, सापकोटाले समय उपलब्ध गराएका छैनन् । यस अर्थमा सभामुख सापकोटाले गुरुङलाई नै प्रमुख सचेतकको व्यवहार गर्ने मनस्थितिमा रहेको अनुमान गरिएको छ । ओली समूहले प्रचण्डलाई दल नेता र गुरुङलाई प्रमुख सचेतकका रुपमा सम्बोधन गरिए संसद बैठक अवरुद्ध गर्ने तयारीमा छ ।