
झापा, १८ फागुन– प्रधानमन्त्री केपी ओलीले झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाएरै छाड्ने बताएका छन् ।
र काठमाण्डु विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाइएकामा विरोध भइरहेका बेला ओलीले सम्बन्धन दिलाएरै छाड्ने बताए । ओलीकै दबाबमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ८९ औं सिनेट बैठकमा बी एण्ड सीलाई सम्बन्धन दिन दबाब दिएका थिए । ओलीले केही दिनमै काठमाण्डु विश्वविद्यालयले बी एण्ड सीलाई सम्बन्धन दिने खुलासा गरे ।
‘काठमाण्डु विश्वविद्यालयले बी एण्ड सीलाई छिट्टै सम्बन्धन दिँदैछ’, सोही मेडिकल कलेजले स्थापना गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उदघाटन गर्दै ओलीले भने । केदार भक्त माथेमा नेतृत्वको कार्यदलले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने प्रतिवेदन बुझाएको थियो ।
काठमाण्डु विश्वविद्यालयले यसअघि नै ९ वटा मेडिकल कलेजलाई एमबीबीएसको सम्बन्धन दिइसकेको छ । माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी पटकपटक अनसन बस्दै आएका छन् ।