
काठमाण्डु, १५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा राईले नागरिकको अपेक्षा अनुसार भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी रुपमा गरिने प्रतिबद्धता जनाए । नागरिक र सार्वजनिक सञ्चार माध्यमले उठाएका विषयमा संविधान तथा अख्तियार ऐनको दायराभित्र बसेर विधि प्रक्रिया र कानून सम्मत रुपमा कदम चालिने राईको भनाइ थियो ।‘
नेपालमा भ्रष्टाचार व्याप्त छ भन्ने आवाजहरू धेरै उठेको छ’, राईले भने, ‘मेरो कार्यकालमा भ्रष्टाचार नियन्त्रणमा अख्तियारले विगतमा गरेका भन्दा प्रभावकारी ढंगले काम अघि बढाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’ राईले जतिसुकै ठूला र शक्तिशाली व्यक्ति भए पनि भ्रष्टाचार गरेको प्रमाणित नभए नछाड्ने चेतावनी दिए । यस्तै निर्दोषमाथि प्रतिशोध साँध्ने हिसाबले काम गर्ने राईले स्पष्ट गरे ।
प्रधानमन्त्री केपी ओलीले अध्यादेशमार्फत राईसहित संवैधानिक निकायका ३२ पदाधिकारी नियुक्त गरेका थिए । सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाउने क्रममा गत ५ पुसमा प्रतिनिधिसभा विघटनपछि गरिएका सबै नियुक्ति शून्यतामा जाने बताएको छ ।
सर्वोच्चको आदेशसँगै राईसहित संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुको नियुक्ति विवादमा परेको छ ।