प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा ओलीः अझै ठूला कुरा !

काठमाण्डु टुडे २०७७ फागुन १२ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, १२ फागुन–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुर्नस्थापना हुनुलाई आफूले सामान्य रुपमा लिएको बताएका छन् ।

ओलीले कसैले भन्दैमा आफूले बालुवाटार नछाड्ने संकेत गरे । उनले आफ्नो सरकार अझै रहने जिकिर पनि गरे । ओलीले आफू देश बनाउने आफ्नो कर्तव्यमा जुटिरहने भन्दै धेरै कुरा गरेर कसैलाई तर्साउन जरुरी नरहेको उल्लेख गरे । ‘अहिले यो सरकार छ । सरकार रहन्छ’, कृषि मन्त्रालयले बुधबार राजधानीमा गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा ओलीले भने, ‘हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं ।’

उक्त भनाइबाट ओलीले तत्काल सत्ता नछाड्ने स्पष्ट सन्देश दिएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि ओलीमाथि नैतिकताका आधारमा राजीनामा दिन चौतर्फी दबाब छ । ओलीले विकसित पछिल्लो राजीतिक अवस्थाबाट आफू नआत्तिएको बताए । उनले आफूmलाई सूर्यसँग तुलना गरे ।

‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दुःखमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ’, ओलीले भने, ‘अप्ठेरो परिस्थिति होस्, सुख होस् दुःख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ ।’ ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘भाइहरु’ को संज्ञा दिए ।

प्रतिनिधिसभा पुर्नस्थापना भएपछि प्रचण्ड र नेपालले लड्डु खाएको विषयमा उनले व्यंग्य गरे । ‘मेरा केही भाइहरुले लडुड् खुवाएछन्, खुसी भएर, जित्यौं हामीले भनेर’, उनले भने, ‘ के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ ।’ प्रचण्ड र नेपालले प्रतिनिधिसभा पुर्नस्थापना भएपछि मंगलबार साँझ चितवनको भरतपुरमा एक–अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us