
काठमाण्डु, १२ फागुन– नेकपाको केपी ओली समूहले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने भएको छ ।
बुधबार बालुवाटारमा बसेको ओली समूहको स्थायी समिति बैठकले अदालतको फैसला स्वीकार गर्दै तोकिएकै समयमा प्रतिनिधिसभा बैठक बोलाउने निर्णय गरेको हो । अेलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको गत ५ पुसको निर्णय सर्वोच्चको संवैधानिक इजलासले मंगलबार उल्ट्याइदिएको थियो ।
उक्त फैसलासँगै अदालतले पुर्नस्थापित प्रतिनिधिसभा बैठक १३ दिनभित्र बस्न सरकारका नाममा परमादेश जारी गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अदालतले भनेकै मितिमा संसद बैठक आह्वान हुने जानकारी दिए ।
‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ’, ज्ञवालीले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएको निस्कर्ष निकालेको ज्ञवालीले बताए । तर, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार फैसला कार्यान्वयन गरिने उनको भनाइ थियो ।