
काठमाण्डु, ११ फागुन– नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने भएको छ ।
ओली समूहका स्थायी समिति सदस्य एवं उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अदालतको फैसला स्वीकार गरिने बताए । ‘सरकारमा बसेर अदालतको फैसला मान्दिन, न्यायालय मान्दिन भन्न मिल्दैन’, मन्त्री भट्टले काठमाण्डुटुडेसँग भने । उद्यपि अदालती फैसला अपेक्षित नभएको टिप्पणी उनले गरे ।
नेपालजस्तो संसदीय प्रणाली भएका मुलुकमा बहुमतको प्रधानमन्त्रीेले काम गर्न सकेन वा काम गर्न दिइएन भने प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहेको भन्दै उनले अदालतले केमा टेकेर फैसला गरेको हो भन्नेबारे बुझ्न बाँकी रहेको बताए ।
‘संसदीय व्यवस्था भएका मुलुकमा प्रधानमन्त्रीलाई काम गर्न दिइएन भने ताजा जनादेशमा जान पाउने अन्तर्राष्ट्रिय प्रचलन हो’, उनले भने, ‘अदालतको फैसला अनपेक्षित आयो ।’