
काठमाण्डु, ११ फागुन–आकस्मिक रुपमा डाकिएको सुरक्षा परिषद बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिको समीक्षा भएको छ ।
सिंहदरबारस्थित परिषद सचिवालयमा बसेको कैठकले विप्लव समूहको सम्भावित सुरक्षा चुनौतीबारे छलफल भएको बताइएको छ । बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले परिषदको निर्णयका आधारमा उक्त समूहमाथि प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
मन्त्रिपरिषद बैठक पनि आजै बोलाइएको छ । सरकार र विप्लव समूहबीच भित्रभित्रै अनौपचारिक वार्ता चलेको खबरहरु सार्वजनिक भएका छन् ।
केही दिनअघि विप्लवले दुई लाइनको विज्ञप्ति जारी गर्दै प्रतिबन्ध फुकुवा गरी खुला राजनीतिक गतिविधि गर्नवातावरण बनाए सरकारसँग वार्ताका लागि तयार रहेको बताएका थिए । त्यसैको प्रत्युत्तरमा सरकारले प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।
यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल आएको दिन सुरक्षा परिषद बैठक बसेको थियो । सर्वोच्च अदालतले संसद विकटनसम्बन्धी मुद्दामा फैसलाको तयारी गरेका बेला सुरक्षा परिषद बैठक डाकिएकाले त्यसलाई लिएर अनेक आशंका र अड्कलबाजी काटिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरे संकटकाल घोषणा गर्ने तयारी गरेको चर्चाले राजनीतिक वातावरण तातेको छ ।