
विराटनगर, ९ फागुन– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
आइतबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको हो । प्रदेश संसद सचिवालयले नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश भएको जनाएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको एक सातापछि नेकपाको प्रचण्ड–नेपाल पक्षले राईविरुद्ध १२ पुसमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
मुख्यमन्त्री राईले संसद बैठकको कार्यसूचीबाट आफूविरुद्धको अविश्वास प्रस्ताव हटाउन सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । सोही कारण राईले प्रदेशसभा बैठक पटकपटक छल्दै आएका थिए । आइतबार प्रदेशसभा बैठकअघि राईले ओली पक्षधर प्रदेशसभा सदस्यहरुको बैठक डाकेर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका कारण आफूले निलम्बन सिफारिस गरेका १६ सांसद बैठकमा सहभागी भएसम्म प्रदेशसभा अगाडि बढ्न नसक्ने निर्णय गराएका थिए ।
अविश्वास प्रस्तावमाथि आगामी २० फागनुमा बस्ने बैठकमा छलफल सुरु हुने छ ।