
काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगप्रति आक्रोश पोखेका छन् ।
निर्वाचन तयारीको काममा नलागेको भन्दै ओलीले आयोग पदाधिकारीप्रति असन्तुष्टि जनाएका हुन् । चुनावविरुद्ध निर्वाचन आयोगले नै षड्यन्त्र गरिरहेको आशयको अभिव्यक्ति उनको थियो । आफूले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्टै ६ पुसमा आयोग पदाधिकारीलाई बोलाएर निर्वाचन तयारी गर्न भनेको तर, अझै निर्वाचन तयारी नभएको भन्दै आपत्ति जनाए ।
‘मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेपछि ६ गते बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भन्या थिएँ’, प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित साहित्यिक कार्यक्रममा ओलीले भने, ‘अस्ति गएर सोधें, तयारी गरिरहेका छौँ भन्नुभयो, तर कार्यक्रम प्रकाशित भएको छैन ।’
ओलीले आयोग पदाधिकारीले मुखले भने जसरी कुनै तयारी नदेखिएको बताए । आयोगले चुनावको तयारी गरेको जनताले पत्तो नपाएको उनको भनाइ थियो । ओलीले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने जिकिर गरे । ओलीले आफूले संसद विघटन गरेर असंवैधानिक काम नगरेको दाबी गरे ।