केपी ओली हिन्दूवादी संगठनको अध्यक्षः प्रचण्ड

काठमाण्डु टुडे २०७७ माघ २७ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, २७ माघ–नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली हिन्दूवादी संगठनको अध्यक्षजस्तो भएर हिंडेको आरोप लगाएका छन् ।

विदेशी सञ्चार माध्यमका काठमाण्डुस्थित संवाददातासँग मंगलबार याक एण्ड यति होटलमा आयोजित साक्षात्कारमा प्रचण्डले धर्मनिरपेक्ष राज्यले नै कुनै एक धर्मको संरक्षण गर्नु गलत रहेको बताए । आफूहरु जनयुद्धकालीन समयदेखि अहिलेसम्म कहिल्यै हिन्दू धर्म र संस्कृतिको विरोधमा नरहेको भन्दै उनले सबै धर्म मान्नेहरुको बराबर सम्मानका लागि संविधानमै व्यवस्था गरेर धर्मनिरपेक्षता कायम गरिएको बताए । ओलीले केही समयअघि पशुपतिनाथ मन्दिरमा लाख बत्ती बाल्दुका साथै मन्दिरको बाहिरपट्टि सुनको जलप लगाउन पैसा दिने घोषणा गरेका थिए । यस्तै चितवनको अयोध्यापुरीमा राम–सीता आश्रम बनाउने घोषणा ओलीले गरेका छन् ।

प्रचण्डले अयोध्यापुरी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भन्दै राम जन्मस्थल कायम भए सबैभन्दा खुसी आफू हुने टिप्पणी गरे । तर, ओलीले रामजन्मस्थल प्रमाणित गराउनका लागि नभई जनताको धार्मिक भावना तान्न राममन्दिरको हल्ला गरिरहेको उनको आरोप थियो । फरक प्रसंगम प्रसंगमा प्रचण्डले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले वैखाखमा घोषित मध्यावधि निर्वाचन असम्भव रहेको बताए । अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्दै उनले संसद विघटन सदर भए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिए । ओलीले निर्वाचन गर्नका लागि घोषणा नगरेको र असंवैधानिक कदमलाई मान्यता दिएर जबर्जस्ती निर्वाचन गराइए आफूहरु त्यस्तो निर्वाचनमा सहभागी हुन नसक्ने स्पष्ट गरे । ‘वैशाखमा चुनाव हुने सम्भावना छैन’, उनले भने, ‘भएछ भने पनि गैरसंवैधानिक निर्वाचनमा हाम्रो सहभागिता हुँदैन ।’ उनले ओलीसँग निर्वाचन गराउने तागत समेत नरहेको टिप्पणी गरे ।

प्रचण्डले ओलीको असंवैधानिक संसद विघटनविरुद्ध काँग्रेससहित सत्ताबाहिरका सबै शक्तिसँग सहकार्यको प्रयास जारी रहेको उल्लेख गरे । आफू र माधव नेपालले केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संयुक्त आन्दोलनको प्रस्ताव गरेको उनले बताए । प्रचण्डले आफैं असंवैधानिक कलदम चाल्ने र आफै सडकमा उत्रिएर सरकारले ताण्डब नृत्य देखाउने काम गरेको आरोप लगाए । ‘नेपाली इतिहासमै सरकार आफैं सडकमा आउनु अनौठो घटना हो’, उनले भेन ।

अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिने टिप्पणी गरे । आफूहरु पद र सत्ताका लागि नभई न्यायका लागि संघर्षमा उत्रिएको बताए । पार्टीको केन्द्रदेखि गाउँसम्म र संसदमा समेत अल्मपतमा रहेका ओलीले पार्टी आधिकारिकता र चुनाव चिन्हको दाबी गर्ने अधिकार नरहेको उनको भनाइ थियो । ओली नयाँ पार्टी खोल्न भने स्वतन्त्र रहेको नेपालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us